RayNewsDaily
भोटेकोशी बाढी अपडेट : मृतकको सङ्ख्या ५३८ पुग्यो, ९७७ जना सम्पर्कविहीन
  • भोटेकोशी बाढीमा ५३८ जनाको शव फेला 
  • ९७७ जना अझै सम्पर्कविहीन 
  • बाढीबाट ७३ जना घाइते भएका छन् 

काठमाडौँ  । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आज दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १२१ जनाको शव फेला परेको छ । गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि ९७७ जना सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना छन् ।

त्यस्तै, रसुवाबाट १६१ र नुवाकोटबाट एक जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ । मकवानपुरबाट ६६ जना तथा ५१७ जना विदेशी नागरिक पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपालीसमेत सम्पर्कविहीन छन् ।

प्राधिकरणका अनुसार बाढीबाट ७३ जना घाइते भएका छन् । घाइतेमध्ये रसुवाका ४३, धादिङका तीन र नुवाकोटका २७ जना रहेका छन् । रासस

 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update