RayNewsDaily
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री   

भक्तपुर । आज असार १५ गते, लोकल उत्पादनको रूपमा प्रख्यात भक्तपुरको ताइचिन चिउरा एकै दिन ४० टन बिक्री भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाका विभिन्न सहर र काभ्रेपलाञ्चोक जिल्लामा असार १५ का लागि यहाँका चिउरा व्यवसायीले ४० टन ताइचिन चिउरा बिक्री गरेको चिउरा व्यवसायी एवं भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतिले जानकारी दिनुभयो ।    
    
 उहाँले आजको दिन ताइचिन चिउराको माग अत्यधिक बढेको उहाँले बताउनुभयो । दहीसँग ताइचिन चिउरा निकै स्वादिलो हुने मान्यता अनुरूप वर्षौँदेखि चिउराका पारखीले ताइचिन चिउरानै रोज्ने गर्छन् ।    
    
 भक्तपुरमा करिब २५ वटा चिउरा मिलबाट दैनिक २५ टन ताइचिन चिउरा उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । भक्तपुर नगरपालिका–६ भालाछेँमा लक्ष्मी चिउरा उद्योगको नामले प्रख्यात जतिको उक्त चिउरा उद्योगमा मात्रै दैनिक ८०० किलो ताइचिन चिउरा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।    
    
 दही चिउरा खाने दिन काठमाडौँ उपत्यकाका व्यापारी तथा रेष्टुरेष्टहरूमा ताइचिन चिउराको माग अत्यधिक बढेको उहाँले बताउनुभयो । आज मात्रै आफ्नो चिउरा मिलबाट एक हजार किलो चिउरा माग भएकोमा ८०० किलो मात्रै दिन सकेको सङ्घका निवर्तमान अध्यक्ष जति बताउनुहुन्छ । भक्तपुरबाट प्रतिकिलो रु २५० मा ताइचिन चिउरा बिक्री हुँदै आएको छ ।    
    
 खानलाई स्वादिलो र स्वस्थ्यवद्र्धक हुने भएकाले दहीसँग ताइचिन चिउरा खाने प्रचलन रहेको उहाँ बताउनुहुन्छ । भक्तपुरबाट वार्षिक ३०० टन ताइचिन चिउरा काठमाडौँ उपत्यकामा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ ।    
    
 चिउराका लागि चैतेधानको साथै चितवन, नुवाकोट, पनौती, नाला, भक्तपुरबाट सिजनअनुसार धान आयात गरेर चिउरा उत्पादन गर्ने गरेको सङ्घका पूर्वअध्यक्ष जति बताउनुहुन्छ । रासस  

प्रकाशित मिति: सोमबार, असार १५, २०८३  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update