रे समाचार/काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज २२.२१ अंक बढेर २७७७.५८ विन्दुमा पुगेको छ । नेप्से बढ्दा आज वित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कालिन्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ६४ रुपैयाँ ९० पैसा बढेर ४९८ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, सेन्ट्रल फाइनान्सको शेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य साढे १० प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन पनि आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४६ करोड ७६ लाख ५८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन नेपाल पुनर्वीमा कम्पनीको साढे २६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ । बढेकामध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.०३ प्रतिशत वृद्धि भएको छ ।
