RayNewsDaily
शेयर बजारमा ६ अंकको गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ६.५१ अंक घटेर २७२४.३९ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । हिजो २ अर्ब ४५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक १४.२६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, नेपाल रिपब्लिक मिडियाको शेयरमूल्य करिब साढे ६ प्रतिशतले बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । सिटी होटलको शेयरमूल्य भने आज सर्वाधिक ६.८४ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सिटी होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ५३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, साहस ऊर्जाको ९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत् कम्पनीको कारोबार रकम साढे ८ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ वटा उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update