रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १.०३ अंक घटेर २७३०.९१ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज इंगवा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.४२ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, बुंगल हाइड्रोको शेयरमूल्य करिब साढे ६ प्रतिशतले बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ । निफ्रा ऊर्जा ऋणपत्रको मूल्य भने आजसर्वाधिक ५.२६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज साहस ऊर्जा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८ करोड ४३ लाख ८९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको करिब साढे ७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम ७ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ ।
