अच्युत रेग्मी/काठमाडौँ । वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात् स्वदेशी तथा विदेशी आरोहीहरुका लागि हिमाल आरोहण गर्ने समय । कतिपय नयाँ आरोहीहरु आरोहणका लागि तयारी गर्दैछन् भने कोही विगतमा आफूले राखेका वा अन्य आरोहीका रेकर्डहरु तोड्दै नयाँ कीर्तिमानहरु राख्न आतुर देखिन्छन् ।
नेपाल पर्यटन बोर्डले छ हजार ५०० मिटरभन्दा उचाइका हिमाल आरोहणलाई अनुमति दिँदै आएको छ भने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले भने पाँच हजार ८०० देखि छ हजार ५०० उचाइका २७ हिमाललाई आरोहण अनुमति दिँदै आएको छ ।
यसपटक सेभेन समिट ट्रेक्सबाट मात्र ८५ जनाले सगरमाथा आरोहण गर्दैछन् । सगरमाथा आरोहणका लागि ४६४ जनाले अनुमति लिएकोमा सेभेन समिटबाट मात्र ८५ जना रहेको यसका सञ्चालक मिङ्मा शेर्पा बताउनुहुन्छ । सेभेन समिटले लामो समयदेखि विभिन्न देशका आरोहीलाई सगरमाथा आरोहण गराउँदै आएको छ । यसबाहेक इलाइट एक्सिपिडिसन, ट्याग नेपाल, इम्याजिङ नेपाल एक्सिपिडिसन, हिमालयन गाइड एक्सिपिडिसन, आठ के एक्सिपिडिसनलगायतले विदेशी आरोहीलाई सगरमाथा आरोहण गराउँदै आएका छन् ।
प्राकृतिक सम्पदाले धनी देश नेपालमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको छ । विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल रहेकोमा नेपालमा मात्र आठ वटा पर्दछन् । हिमालैहिमालको देश नेपालमा हिमाल चढ्नकै लागि पनि बर्सेनि हजारौँ आरोही आउने गरेका छन् । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न एक हजार ७२ आरोहीले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि सन् २०२६ को मार्च १ देखि आजसम्म ७९ देशका एक हजार ७२ आरोहीले अनुमति लिएका हुन् । अनुमति लिनेमा ८११ पुरुष र २६१ महिला रहेका छन् । हिमाल आरोहण अनुमति लिने सङ्ख्या अझै थपिनसक्ने विभागले जनाएको छ । गत वर्ष वसन्त ऋतुमा हिमाल आरोहणका लागि एक हजार १४० जना आरोहीले आरोहण अनुमति लिएका थिए । उक्त आरोहण अनुमति दिएवापत नेपालले रु ७९ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यस्तै सन् २०२४ मा ९९१ जनाले हिमाल आरोहण अनुमति लिएका थिए ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का महासचिव राजेन्द्र लामा कोरोना महामारीपछि नेपालको हिमाल आरोहणका लागि विदेशी आरोहीको आकर्षण बढेको बताउनुहुन्छ । एनएमएले अनुमति प्रदान गर्ने पाँच हजार ८०० देखि छ हजार ५०० उचाइका २७ हिमाल आरोहणका लागि पनि विदेशी आरोहीको हुटहुटी बढेको उहाँको भनाइ छ । महासचिव लामाका अनुसार सङ्घले सन् २०२४ को जुलाईदेखि २०२५ को जुलाईसम्म दुई हजार २०४ परमिट जारी गरेको छ । जसबाट एनएमएले रु १६ करोड हाराहारीमा राजस्व सङ्कलन गरेको छ । यस्तै, सन् २०२५ को जुलाईदेखि हालसम्म दुई हजार २५ जनालाई परमिट जारी गरेको छ । उक्त परमिट जारी गरेबापत एनएमएले रु २० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ
यस वर्ष वसन्त ऋतुका लागि सर्वाधिक अनुमति सर्वोच्च शिखर सगरमाथाका लागि आएको छ । सगरमाथा आरोहणका लागि मात्र हालसम्म ५५ देशका ४६४ आरोहीले अनुमति लिएको पर्यटन विभागका निर्देशक निशा थापा राउतले जानकारी दिनुभयो । सगरमाथा आरोहणका लागि अनुमति लिनेमा ३६४ पुरुष र १०० महिला रहेका छन् ।
विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी चिनीयाँ आरोही रहेका छन् । चीनबाट मात्र १३९ जना आरोहीले आरोहण अनुमति लिएको निर्देशक राउतले बताउनुभयो । यसबाहेक, अमेरिकाबाट १३२, भारतबाट पाँच, बेलायतबाट ७२, जर्मनीबाट ६९, रुसबाट छ, क्यानडाबाट ३९, जापानबाट ३५, फ्रान्सबाट २६, अष्ट्रेलिया २४ र युक्रेनबाट २३ जनाले अनुमति लिएका छन् । यस्तै पोल्याण्डबाट ३१, नेपालबाट १७, अर्जेन्टिनाबाट १३, आयरल्याण्डबाट १४, चेक रिपब्लिकबाट १७, इक्वेडरबाट १०, ब्राजिलबाट नौ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ ।
सरकारले सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न २९ हिमाल तथा चुली आरोहणका लागि अनुमति दिएको हो । विभागका निर्देशक राउतका अनुसार सगरमाथाका लागि ४६४, ल्होत्से १११, आमदब्लम १०४, अन्नपूर्ण चार १३, धौलागिरी ३०, सरीबुङ १८, अन्नपूर्ण १ का लागि २७, थोराङ पिक १४, मकालु ७२, नप्तसे ५२, हिमलुङ हिमाल ४६, कञ्चनजङ्गा ३६, बरुण १२ जनाले अनमुति लिएका छन् ।
पछिल्लो समय पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्रमा प्रभाव परेको भए पनि हिमाल आरोहणका लागि भने उत्साहजनक सहभागीता देखिएको छ । यस वर्षको हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट विभागले रु एक अर्ब १७ करोड ५५ लाख नौ हजार २५९ राजस्व सङ्कलन गरेको छ । विभागले सबैभन्दा धेरै सगरमाथाबाट रु एक अर्ब एक करोड २८ लाख २३ हजार ९२५ राजस्व सङ्कलन गरेको छ ।
यस्तै ल्होत्सेबाट रु चार करोड ९७ लाख ७१ हजार ६५०, मकालुबाट रु तीन करोड १७ लाख ८५ हजार ८००, आम दब्लमबाट रु एक करोड ५५ लाख ४५ हजार ५५०, धौलागिरी-१ बाट रु एक करोड ३४ लाख ५४ हजार ५५०, अन्नपूर्ण-१ बाट रु एक करोड २० लाख ४९ हजार १७५, कञ्चनजङ्गाबाट रु एक करोड ६० लाख ८१ हजार ६५० राजस्व सङ्कलन भएको छ ।
विभिन्न हिमाल आरोहणका लागि आरोहीहरु गन्तव्यतर्फ लाग्ने क्रम सुरु भएको छ । कतिपय आरोही भने हाल सगरमाथा आधार शिविरमा पुगिसकेका छन् । सगरमाथा आरोहणका लागि अहिले डोरी टाँग्ने काम भइरहेको छ । सगरमाथा आरोहणलाई सहज बनाउनका लागि अहिले सगरमाथा प्रदूषण नियन्त्रण समितिले बेस क्याम्पबाट आइसफल हुँदै क्याम्प दुईसम्म डोरी टाँग्ने काम गरिरहेको छ । समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पा सगरमाथा बेस क्याम्पबाट आइसफल हुँदै क्याम्प दुईसम्मको बाटो बनाउने काम सम्पन्न भइसकेको बताउनुहुन्छ ।
यस्तै क्याम्प दुईदेखि सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम भने पर्वतारोहण सञ्चालक सङ्घ नेपालले गर्दै आएको छ । सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुली अहिले क्याम्प-३ सम्म डोरी टाँग्ने काम सम्पन्न भइसकेको बताउनुहुन्छ । “मौसमका कारण क्याम्प तीनदेखि सगरमाथा चुचुरोसम्म डोरी टाँग्नका लागि समस्या भइरहेको छ”, अध्यक्ष पराजुली भन्नुहुन्छ ।
अध्यक्ष पराजुली मौसम राम्रो भएमा अबको चार/पाँच दिनमा सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम सकिने बताउनुहुन्छ । मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष सगरमाथा आरोहणका लागि बाटो बनाउने र डोरी टाँग्ने काम केही ढिला भएको उहाँको भनाइ छ । अझै क्याम्प-४ हुँदै सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम बाँकी नै रहेको अध्यक्ष पराजुली बताउनुहुन्छ ।
हिमाल आरोहणका लागि आएका आरोही र पदयात्रीको स्वास्थ्य जाँचका लागि हिमालयन उद्धार सङ्घले सगरमाथा आधार शिविर र फेरिचेमा चिकित्सकको टोली खटाइसकेको छ । हिमालय उद्धार सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्याल हिमाल आरोहण गर्न जाने आरोही र तीनका सहयोगीको स्वास्थ्यजाँचका लागि तालिमप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सगरमाथा क्षेत्रमा परिचालन गरिसकेको बताउनुहुन्छ ।
आरोहीको स्वास्थ्य जाँचका लागि सगरमाथा आधार शिविरमा अष्ट्रेलियाली चिकित्सक सामन्था एलिसन विल्स, नेपाली चिकित्सक पिन्स सिंह र सहयोगीका रुपमा लाक्पा नोर्बु शेर्पा खटिनुभएको छ । यस्तै फेरिचे स्वास्थ्यचौकीमा अष्ट्रेलियाली चिकित्सक रेबेका एलेन कारपेन्टर, अमेरिकाका डा केटलिन ब्रुक हार्पर, नेपाली चिकित्सक आकृति सिंह र सहयोगीका रुपमा आङ दावा शेर्पा र थानेश्वर भण्डारी खटिनुभएको सिइओ बस्याल बताउनुहुन्छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण २०० जेठ १६ (सन् १९५३ मे २९ देखि सुरु भएको हो । सगरमाथाको पहिलो आरोही न्युजिल्याण्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पा हुनुहुन्छ । उहाँहरुले पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला टेकेको दिनलाई सगरमाथा दिवसका रुपमा मनाइँदै आइएको छ । रासस
