रे समाचार/काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ । नेप्से परिसूचक आज ३४.६३ अंक घटेर २७०४.०८ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ४ अर्ब ९१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो लघुवित्तको शेयरमूल्य आज १६४ रुपयाँ ४० पैसा बढेर १ हजार २६० रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, झापा इनर्जीको शेयरमूल्य ८ प्रतिशतले वृद्धि भएको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक १२.५८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३१ करोड ३६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको करिब १८ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।
