रे समाचार/काठमाडौं । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको शेयर बजार आज साताको अन्तिम कारोबार दिन पनि सोही क्रमलाई निरन्तरता दिएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ५.७३ अंक घटेर २७३८.७२ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ९८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको शेयरमूल्य सर्वाधिक १२.५७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, शिखर पावर डेभलपमेन्ट र एशियन हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ भने अन्य स्टकहरूको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक १०.३८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ७५ लाख ६८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, आँखु खोला जलविद्युत् कम्पनीको करिब २२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।
