रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ७.७३ अंक बढेर २७९६.४३ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । गत शुक्रबार ५ अर्ब २७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र सिटी होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, झापा इनर्जीको शेयरमूल्य साढे ९ प्रतिशतले वृद्धि भएको छ भने ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ७ प्रतिशतले बढेको छ । निफ्रा ग्रीन इनर्जी डिबेञ्चरको मूल्य भने आज सर्वाधिक १४.०१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ७४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, आँखु खोला जलविद्युत् कम्पनीको कारोबार रकम २६ करोड रुपैयाँ नाघेको छ भने सोलु हाइड्रोपावरको करिब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ ।
