काठमाडौँ । एक जना शङ्कास्पद लागुपदार्थ कारोबारीले सालीनदीमा प्रहरी टोलीमाथि आक्रमण गरेको छ । प्रहरीले आक्रमणकारीलाई जवाफी हमला गरी शङ्खरापुर नगरपालिका-५ सालीनदी किनारबाट एकथान पेस्तोल, त्यसमा प्रयोग हुने एउटा ‘म्याग्जिन’ तीन ‘राउण्ड’ गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका-३ का ३५ वर्षीय राम भन्ने जीवन जिम्बा र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१ का ३४ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको हो । उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जीवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात् प्रहरीले जवाफी ‘फायर’ गर्दा घाइते भएका निजको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार अन्य दुई जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । रासस
