RayNewsDaily
शेयर बजारमा घटेकाे घट्यै

रे समाचार/काठमाडौं । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब ८१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ९ करोड ५९ लाख ५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ९ प्रतिशतले वृद्धि भएको छ । पछिल्ला दिनहरुमा निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य भने आज सर्वाधिक ११.७९ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ४२ लाख ५२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, सोलु हाइड्रोपावर र आँखु खोला जलविद्युत् कम्पनीको २६ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने होटल फरेष्ट इनको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update