रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से परिसूचक आज २.९५ अंक घटेर २८०४.१७ विन्दुमा झरेको छ । नेप्से सामान्य अंक घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ५ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ३ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, झापा इनर्जीको शेयरमूल्य १४ प्रतिशतले बढेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतले वृद्धि भएको छ । होटल फरेष्ट इनको शेयरमूल्य भने आज सर्वाधिक १०.७५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ३२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ ।
