रे समाचार/रकाठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रमार्फत अत्याधुनिक प्रविधियुक्त र उच्च सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ भइरहेको जानकारी गराएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै हाल छपाइ भइरहेको लाइसेन्स अन्तर्राष्ट्रिय स्तरको आईएसओ ७८१० आईडी-१ गुणस्तरको रहेको र यो विश्वभर प्रचलित क्रेडिट कार्डको मानक आकारमा तयार पारिएको जनाएको छ ।
विकसित मुलुकहरूले दशकौँदेखि प्रयोग गर्दै आएको प्रविधिमा आधारित यो अनुमतिपत्रले नेपालको सवारी व्यवस्थापन प्रणालीलाई थप सुरक्षित र भरपर्दो बनाउने मन्त्रालयको तर्क छ ।
विगतमा प्रयोग गरिएको 'स्मार्ट चिप' को पूर्ण उपयोगका लागि आवश्यक पूर्वाधार र कार्ड रिडरको अभावका साथै विदेशी विज्ञमा निर्भर रहनुपर्ने जोखिमलाई मध्यनजर गर्दै अहिले इन्टेलिजेन्ट क्यूआर (I-QR) प्रविधि अपनाइएको विज्ञप्तिमा उल्लेख छ ।
यो प्रविधि कोड इन्क्रिप्टेड, लेयर्ड र कपी-प्रोटेक्टेड रहेको छ । यसको सबैभन्दा ठुलो विशेषता भनेको अफलाइन प्रमाणीकरण हो, जसका कारण ट्राफिक प्रहरी वा अन्य नियामक निकायले इन्टरनेट पहुँच नभएको जुनसुकै स्थानमा पनि कार्ड स्क्यान गरेर सवारीचालकको पहिचान र आधिकारिकता तत्कालै पुष्टि गर्न सक्नेछन् ।
सुरक्षाको दृष्टिकोणले नयाँ स्मार्ट अनुमतिपत्रमा ३९ वटा भिन्न-भिन्न विशेषताहरू समावेश गरिएका छन्, जसलाई तीन तहमा वर्गीकरण गरिएको छ । पहिलो तहमा साधारण आँखाले देख्न सकिने मेटालिक सिल्भर इंक र मसिनले पढ्न सक्ने जोन (MRZ) राखिएको छ ।
दोस्रो तहमा विशेष उपकरणको सहायताले मात्र देखिने अदृश्य यूभी मसी र इन्फ्रारेड-एब्जोर्प्सन जस्ता सुरक्षा प्रणाली छन् । त्यस्तै, तेस्रो वा फोरेन्सिक तहमा प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने डिजिटल सिग्नेचर र प्रोप्राइटरी इलेक्ट्रो-इंक जस्ता उच्च सुरक्षा प्रविधि प्रयोग गरिएको छ, जसले गर्दा एउटा कार्ड अर्कोसँग पूर्णतः भिन्न र सुरक्षित रहनेछ ।
मन्त्रालयका अनुसार सम्पूर्ण उत्पादन प्रक्रिया इन्ड-टु-इन्ड अफलाइन ढाँचामा रहेकाले डेटा चुहावट हुने वा अनधिकृत व्यक्तिले विवरण प्राप्त गर्ने कुनै सम्भावना छैन । क्यूआर कोडको वैधता कार्डको अवधिसम्म सुनिश्चित गरिएको छ ।
यो प्रक्रिया तुलनात्मक रूपमा कम खर्चिलो हुनुका साथै नागरिकको व्यक्तिगत गोपनीयता र डेटा सुरक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको सरकारले दाबी गरेको छ ।
भविष्यमा यही सरकारी संयन्त्रबाट सवारीचालक अनुमतिपत्रका अलावा हुलाक टिकट, नागरिकता प्रमाणपत्र, अन्तःशुल्क स्टिकर, लालपुर्जा, भिसा स्टिकर र विश्वविद्यालयका प्रमाणपत्रहरू समेत स्वदेशमै मुद्रण गर्ने योजना ल्याइएको छ ।
