- नेपालमा खुला ‘प्रिन्टिङ फाउन्ड्री’ स्थापनाबारे अन्तरराष्ट्रिय सम्मेलन सुरु ।
- फ्लेक्सिबल इलेक्ट्रोनिक्स उत्पादन र नवप्रवर्तनमा केन्द्रित छलफल ।
- उच्च प्रविधिमा स्वदेशी उद्योग र स्टार्टअपलाई टेवा पुग्ने अपेक्षा ।
रे समाचार/काठमाडौँ । नेपालमा दिगो फ्लेक्सिबल इलेक्ट्रोनिक्स उत्पादनको आधार निर्माण गर्ने लक्ष्यसहित ‘आर-टु-आर प्रिन्टिङ फाउन्ड्री प्लेटफर्मको सुरुआत’ विषयक दुईदिने अन्तरराष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । सम्मेलनमा विश्वका अग्रणी अनुसन्धानकर्ता, शिक्षाविद् र उद्योग क्षेत्रका नवप्रवर्तक सहभागी भएका छन् ।
फ्लेक्सिबल इलेक्ट्रोनिक्स भनेको मोड्न, बाङ्ग्याउन वा घुमाउन मिल्ने इलेक्ट्रोनिक उपकरण बनाउने प्रविधि हो । सामान्य इलेक्ट्रोनिक उपकरणमा कडा सर्किट बोर्ड प्रयोग गरिन्छ भने यस प्रविधिमा पातलो प्लास्टिक वा लचिलो सामग्रीमा सर्किट छापिन्छ । यही कारणले यसबाट फोल्ड हुने मोबाइल, स्मार्ट घडी, स्वास्थ्य परीक्षण गर्ने सेन्सर, स्मार्ट लेबल र अन्य आधुनिक उपकरण हल्का, पातला र कम लागतमा उत्पादन गर्न सकिन्छ ।
फ्लेक्सिबल इलेक्ट्रोनिक्सको नमुना । पातलो र मोड्न मिल्ने सामग्रीमा विकसित गरिएको इलेक्ट्रोनिक सर्किट, जसलाई वेयरेबल उपकरण, स्मार्ट सेन्सर र अन्य आधुनिक प्रविधिमा प्रयोग गर्न सकिन्छ । (प्रतीकात्मक तस्बिर)
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, काठमाडौँ इन्जिनियरिङ कलेज (केइसी) तथा अन्य संस्थाको सहकार्यमा आयोजित सम्मेलनमा आर-टु-आर प्रिन्टिङ प्रविधि, फ्लेक्सिबल इलेक्ट्रोनिक्स, बायो-सेन्सर, बायो-इलेक्ट्रोनिक्स, बायोचिप्स र प्रिन्टेड इलेक्ट्रोनिक्सको व्यवसायीकरणका विषयमा प्राविधिक सत्र सञ्चालन हुनेछन् ।
उद्घाटन समारोहमा केइसीका संस्थापक अध्यक्ष डा. हीरेन्द्रमान प्रधानले फ्लेक्सिबल इलेक्ट्रोनिक्स प्रविधिले इलेक्ट्रोनिक उपकरण उत्पादनको स्वरूप परिवर्तन गर्न सक्ने बताउनुभयो । उहाँका अनुसार रोल-टु-रोल प्रिन्टिङ प्रविधिबाट कम लागतमा ठूलो परिमाणमा इलेक्ट्रोनिक सर्किट, सेन्सर र डिस्प्ले उत्पादन गर्न सकिन्छ ।
डा. प्रधानले नेपालमा खुला प्रिन्टिङ फाउन्ड्री स्थापना गर्न सके स्टार्टअप र उद्योगले ठूलो लगानीबिनै नयाँ प्रविधिमा आधारित उत्पादन विकास गर्न सक्ने बताउनुभयो । यसबाट कृषि, स्वास्थ्य, वातावरण र स्मार्ट प्याकेजिङका लागि आवश्यक उपकरण विकास हुनुका साथै नेपाली इन्जिनियरिङ प्रतिभालाई स्वदेशमै अवसर सिर्जना हुने उहाँको विश्वास छ ।
सम्मेलनमा जापान, दक्षिण कोरिया र अष्ट्रियाका विज्ञहरूले फ्लेक्सिबल इलेक्ट्रोनिक्ससम्बन्धी आफ्नो अनुसन्धान तथा अनुभव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
