मिडियामा एआई प्रयोगबारे नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण   

काठमाण्डू । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीले चीनको सछुवानमा एआई तथा डिजिटल सञ्चारसम्बन्धी साताव्यापी प्रशिक्षण तथा अध्ययन भ्रमण पूरा गरेका छन् ।    
    
युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)सँगको शैक्षिक सहकार्यअन्तर्गत भएको कार्यक्रममा सहभागीले समाचारकक्षमा एआईको प्रयोग, मानव–मेसिन सहकार्य, डिजिटल सामग्री उत्पादन, दृश्य कथा वाचन तथा मिथ्या र भ्रामक सूचना व्यवस्थापनबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेका थिए ।     
    
भ्रमणका क्रममा सहभागीले सछुवान न्यूजनेट ग्रुप, सछुवान टिभी, छेंग्दु राष्ट्रिय सुपर कम्प्युटिङ केन्द्र, एआईजिसी कार्यशाला, भर्चुअल उत्पादन स्टुडियो तथा रोबोट पार्कलगायत संस्थाको अवलोकन गरेका थिए ।    
    
कार्यक्रममा त्रिविसहित पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय र  काठमाण्डू विश्वविद्यालयका विद्यार्थी सहभागी थिए । त्रिविका उपप्राध्यापक डा. ऋषिकेश दाहालले यस्ता शैक्षिक सहकार्यले नेपाली विद्यार्थीलाई सञ्चार प्रविधिमा भइरहेको परिवर्तन बुझ्न सहयोग पुग्ने बताउनुभयो । युइएसटिसी र त्रिविबीचको चीन–नेपाल युवा शैक्षिक आदानप्रदान कार्यक्रमको यो दोस्रो वर्ष हो ।    
    
नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्धलाई सरकारदेखि सरकारमात्र नभइ जनस्तरसम्म जोड्न विभिन्न गतिविधि हुँदै आएको र आगामी दिनमा पनि प्राज्ञिक क्षेत्रमा सहकार्य जारी रहने युइएसटिसीका प्राध्यापक चाङ स्युनले जानकारी दिनुभयो ।    
    
कार्यक्रममा केन्द्रीय विभागका अनुषा काफ्ले, दीक्षा राई, मोनिका वाइबा, लक्ष्मण गिरी र प्रियङ्का सुनार सहभागी थिए । नेपाली टोलीको नेतृत्व केन्द्रीय विभागका उपप्राध्यापक डा ऋषिकेश दाहालले गर्नुभएको थियो ।     
    
भ्रमणमा त्रिविबाट सात जना सहभागी थिए भने पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका दुई–दुई जनाको सहभागिता थियो ।  काठमाण्डू विश्वविद्यालयबाट एक जनाले सहभागिता जनाएका थिए ।    
    
नेपाल-चीनबीच प्राज्ञिक सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने केन्द्रीय विभागका डा. दाहालले जानकारी दिनुभयो । राससका अनुसार पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा. डा. कुन्दन अर्यालले युइएसटिसीसँगको सहकार्यले निरन्तरता पाइरहँदा आगामी वर्षमा थप विद्यार्थीले अवसर पाउने बताउनुभयो । रासस    

 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update