RayNewsDaily
पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन    

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा ल्याइएको छ । दक्ष जनशक्तिको व्यवस्थापन र मर्मतसम्भार गरी प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो ।     
     
कोरोनाको समयमा सङ्घीय सरकारबाट बजेट विनियोजन भई पाल्पा अस्पतालमा निमार्ण गरिएको अक्सिजन प्लान्ट केही वर्षयता बिग्रिएर थन्किएको थियो । अहिले प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन अभावको समस्या समाधान हुने भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । यसअघि यहाँ अक्सिजन प्लान्ट नहुँदा बुटवल, भैरहवाबाट ल्याउनुपर्ने बाध्यता थियो ।     
जिल्लामा अक्सिजन प्लान्ट सञ्चालन भएपछि अन्य अस्पतालका साथै सबै बिरामीलाई सजिलो भएको तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिञ्जालीले बताउनुभयो । प्लान्ट सञ्चालनपछि पाल्पा अस्पतालमा भर्ना हुने बिरामी मात्र नभई लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, रामपुर अस्पताल तथा जिल्लाका निजी मेडिकल र क्लिनिकहरूलाई समेत अक्सिजन सिलिण्डर आपूर्ति गर्न सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।     
     
जिल्लामा मासिक चार सयदेखि पाँच सय अक्सिजन सिलिण्डर खपत हुने गरेको छ । प्लान्टमा अक्सिजन सिलिण्डर सानोको रु तीन सय ५० र ठूलाको रु छ सय ५० सम्ममा खरिदबिक्री हुँदै आएको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष अजयमान कर्माचार्यले जानकारी दिनुभयो । जिल्लामा अक्सिजन उत्पादन हुँदा यहाँका अस्पतालहरूको ढुवानी खर्च र समयको बचत समेत हुने उहाँको भनाइ छ ।     
     
पाल्पा अस्पताललाई सुविधायुक्त, विश्वसनीय र भरपर्दाे बनाउन अक्सिजन प्लान्ट महत्वपूर्ण रहेको समितिका अध्यक्ष कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजनको अभावमा कुनै पनि बिरामीले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य रहेको छ ।”     
     
अक्सिजन प्लान्ट सञ्चालन भएसँगै अस्पतालले आगामी वैशाख दोस्रो साताभित्र शल्यक्रिया सेवा सुरु गर्ने योजना बनाएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र पौडेलले बताउनुभयो । सङ्घीय सरकारअन्तर्गत अर्थ मन्त्रालयले विसं २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि रु एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो ।     
     
सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने उपकरण खरिद गरी प्लान्ट सञ्चालनमा ल्याइएको थियो । प्लान्टका लागि अस्पताल नजिकै रु २६ लाख लागतमा भवन निर्माण गरिएको छ । कोभिडका बेला प्लान्ट सञ्चालनमा आउँदा सहज भए पनि त्यसयता बन्द भएपछि दीर्घरोगीहरूमर्कामा पर्दै आएका थिए । रासस

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update