RayNewsDaily
सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित
  • राजविराजमा अस्पतालबाहिर सुत्केरी भएको घटनामा तीन वटा छानबिन समिति गठन ।
  •  घटनाका दिन प्रसूति वार्डमा खटिएका छ कर्मचारी निलम्बित ।
  •  तीनवटै समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने ।

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पतालअघिको सडकपेटीमा शिशु जन्माएको घटना सार्वजनिक भएपछि तीनवटा छानबिन समिति गठन गरिएको छ । सङ्घ, प्रदेश र जिल्लास्तरमा गठन गरिएका समितिले छानबिन प्रक्रिया सुरु गरिसकेका छन् ।

छानबिन समितिले घटनाका दिन कार्यस्थलमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, सफाइकर्मी र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलसँग सोधपुछ गरिसकेको अस्पताल प्रशासनले जनाएको छ । घटनाको प्रकृति, पीडित महिलाको अवस्था, स्वास्थ्यकर्मीको व्यवहारलगायत विषयमा अनुसन्धान भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राञ्जित झाले बताउनुभयो । घटना भएको दिन उहाँ कामविशेषले काठमाडौँमा हुनुहुन्थ्यो ।

डा. झाले प्रारम्भिक चरणमा घटनाका दिन प्रसूति वार्डमा कार्यरत चार स्वास्थ्यकर्मी, एक चौकीदार र एक सरसफाइकर्मी गरी छ जनालाई तत्काल निलम्बन गरिएको जानकारी दिनुभयो । छानबिन समितिको अन्तिम प्रतिवेदनका आधारमा निलम्बित कर्मचारीबारे थप निर्णय गरिने उहाँले बताउनुभयो ।

“छानबिनको अन्तिम टुङ्गो नलागेसम्म छ जनाकै निलम्बन कायम रहने छ”, उहाँले भन्नुभयो ।

स्थलगत छानबिनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार सुप्रभात श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । त्यस्तै, मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिका सदस्य किरणकुमारी साहको नेतृत्वमा अर्को समिति र जिल्ला प्रशासन कार्यालयले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिशकुमार यादवको नेतृत्वमा अर्को समिति गठन गरेको छ ।

तीनवटै समितिले आ-आफ्नै तरिकाले घटनाको सत्यतथ्य बुझेर सात दिनभित्र सम्बन्धित निकायमा प्रतिवेदन बुझाउने समय तोकिएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा तीन दिनअघि सुत्केरी व्यथा लागेर आएकी राजविराज नगरपालिका-१४ परसाही टोलकी ३० वर्षीया बविता पासमान रकम अभावका कारण उपचार नहुने भन्दै अस्पतालबाट बाहिरिनुभएको थियो ।

यसअघि तीन सन्तानलाई बर्थिङ सेन्टर र अस्पतालमा जन्म दिनुभएकी बविताले चौथो सन्तानलाई रकम अभावका कारण सडकपेटीमै जन्म दिनुभएको थियो । स्वास्थ्यकर्मीले पुर्जामा लेखिदिएको तीन हजार २०० रुपैयाँको जाँच गराउन पैसा नभएपछि रकमको जोहो गर्न बाहिर निस्किएका बेला उहाँले सडकपेटीमा शिशुलाई जन्म दिनुभएको थियो ।

घटनाको दृश्य सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि सत्यतथ्य जाँच गर्न छानबिन समिति गठन गरिएको हो । रासस

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update