RayNewsDaily
शेयर बजारमा गिरावट

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक १३.४६ अंक घटेर २८३७.७७ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब ९१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज ७ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्ट आजदेखि कारोबारमा आएका कम्पनीहरु हुन् । आज रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य करिब साढे ९ प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ । एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य भने आज सर्वाधिक ४.१७ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५१ करोड ३२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ४३ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने रिडी पावर डेभलपमेन्टको कारोबार रकम ३८ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज २ वटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update