रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि उच्च अंकको वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४८.७१ अंक बढेर २८५१.२४ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ३१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ८ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, हिम स्टार ऊर्जा कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य साढे ७ प्रतिशतले बढेको छ । एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य भने आज सर्वाधिक ६.७४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, रिडी पावर कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब ४० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशतले वृद्धि भएको छ ।
