रे समाचार/काठमाडौं । पछिल्ला दिनहरुमा सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा व्यवसायीहरु पनि पक्राउ पर्न थालेपछि उच्च अंकले घटिरहेको शेयर बजार अर्थमन्त्री स्वर्णिम वाग्लेको आश्वासनसँगै उच्च अंकले वृद्धि भएको छ । हिजो १०० अंकभन्दा बढी घटेर बन्द भएपछि आज बिहान स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरुले अर्थमन्त्री वाग्लेलाई भेट्न पुगेका थिए । उक्त भेटमा वर्तमान सरकार निजी क्षेत्र र पूँजीबजार मैत्री रहेको आश्वासन दिँदै इन्साइडर ट्रेडिङ्ग, म्यानिपुलेसन र अन्य अनैतिक कार्य नगरेमा प्यानिक हुनु नपर्ने बताउनुभएको थियो । त्यसको प्रभाव परेकोले आजको बजार वृद्धि भएको हो ।
आज नेप्से परिसूचक ८३.३३ अंक बढेर २७६०.०२ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १२ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ८ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्था, भुजुङ्ग हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज मूल्य घटेका स्टकहरुको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हिमालयन रि इन्स्योरेन्सको करिब ५५ करोड रुपैयाँको शेयर किनबेच भएकोछ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक ४.५९ प्रतिशतले वृद्धि भएको छ ।
