RayNewsDaily
शेयर बजारमा १०५ अंकको गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार १०० अंकभन्दा बढीले घटेको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १०५.५० अंक घटेर २६७६.६८ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ८ अर्ब ८१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज ६ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्डा हाइड्रो इलेक्ट्रिकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । आज ७ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि इन्स्योरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भि इनर्जीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड २८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, शिवम् सिमेन्ट्सको ४५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४२ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशतले घटेको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update