रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । हिजो उच्च अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्से आज भने सामान्य अंकले बढेको हो । आज नेप्से परिसूचक ५.८२ अंक बढेर २७८२.१८ विन्दुमा पुगेको छ । नेप्से सामान्य अंक बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो १२ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज पनि ६ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ७ प्रतिशतले वृद्धि भएको छ भने श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य भने आज सबैभन्दा बढी ३.०६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ३५ करोड ७० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, ङादी ग्रुप पावरको करिब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम साढे २९ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ ।
