RayNewsDaily
शेयर बजारम उच्च गिरावट

रे समाचार/काठमाडौं । नयाँ सरकार बनेपछि शेयर बजारमा उछाल आउने अनुमान विपरीत बालेन शाह नेतृत्वको सरकार बनेपछि पहिलो पटक खुलेको शेयर बजारमा भारी गिरावट आएको छ ।  नयाँ सरकार बनेपछिको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक उच्च अंक घटेर बन्द भएको छ ।

पछिल्लो समय दैनिकजसो बढिरहेको नेप्से आज ७१.०५ अंक घटेर २८७९.११ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १३ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज १५ अर्ब ३ करोड ३३ लाख १० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

नेप्से घटे पनि आज आधा दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ६.१७ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७१ करोड ११ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, ङादी ग्रुप पावरको ५२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे ४८ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । त्यसमध्ये वित्त उपसमूहको परिसूचकमा सर्वाधिक ३.३८ प्रतिशतको गिरावट आएको छ । 

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update