रे समाचार/काठमाडौं । पछिल्ला पाँच कारोबार दिनदेखि बढिरहेको शेयर बजारमा आज गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २४.४५ अंक घटेर २९३५.९४ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने वृद्धि भएको छ । हिजो १४ अर्ब ८३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज १५ अर्ब ९ करोड ४ लाख १६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स, सुपर खुदी हाइड्रोपावर, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ७.७४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५२ करोड ४७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, अपि पावर कम्पनीको करिब ५२ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम साढे ४७ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.४५ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य वृद्धि भएको छ ।
