रे समाचार/काठमाडौं । पछिल्ला ४ कारोबार दिनदेखि बढिरहेको शेयर बजार आज पनि वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २३.८३ अंक बढेर २९६०.४० विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो १५ अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ५ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर र भुजुङ्ग हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, होटल फरेष्ट इन, विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ । फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ६.५६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६७ करोड ४३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, अपि पावर कम्पनीको करिब ५८ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयरको कारोबार रकम साढे ४५ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ ।
