RayNewsDaily
शेयर बजारमा उच्च वृद्धि भई ७ महिनायताकै उच्च विन्दुमा

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अंकले वृद्धि भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिँदै करिब ७ महिनायताकै उच्च विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक ५४.५१ अंक बढेर २९३१.५५ विन्दुमा पुगेको छ । यो करिब ७ महिनायताकै उच्च विन्दु हो । यसअघि गत साउन १४ गते नेप्से परिसूचक २९५४.१४ विन्दुमा बन्द भएको थियो । 

नेप्सेसँगै आज कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । आज २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आजको कारोबार रकम पनि करिब ७ महिनायताकै उच्च हो । यसअघि गत साउन ११ गते बजारमा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको थियो ।

आज ७ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ककर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अभियान लघुवित्त वित्तीय संस्था, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य भने आज सर्वाधिक ५.७१ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ८५ करोड ९६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, नेशनल हाइड्रोपावरको करिब ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम ७५ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको घटेको छ । लघुवित्त उपसमूहको परिसूचक आज सर्वाधिक ४.२१ प्रतिशतले वृद्धि भएको छ । व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update