भक्तपुर । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ । त्यसका लागि नेपाल बार एसोसियन, बार एकाइ, कानुन व्यवसायी महिला र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
आजदेखि यहाँ सुरु भएको नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ न्यायाधीश मल्लले न्यायपालिकाको सुदृढीकरणमा हातेमालो गर्दै अगाडि जानुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायको क्षेत्रमा महिला अझै पछि परेको उल्लेख गर्नुभयो ।
महिलामाथि हुने मानसिक तथा शारीरिक हिंसाको अन्त्य आवश्यक रहेको बताउँदै उहाँले यसलाई रोक्न कडाइका साथ कानुन कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । महिलालाई कानुनका बारेमा जानकारी नहुँदा न्याय पाउन ढिलो हुने गरेको उल्लेख गर्दै उहाँले न्यायका लागि महिलालाई कानुनी चेतनाका अभियान अगाडि सार्नुपर्ने आँैल्याउनुभयो ।
कार्यक्रममा नेपाल बार एसोसिएसन, न्याय परिषद्का सदस्यहरू, विभिन्न जिल्ला अदालतका न्यायाधीशहरू, विशेष अदालत बार एसोसिएनका प्रतिनिधि, कानुन व्यवसायी महिलाका प्रतिनिधि एवं पदाधिकारीले महिलाको सहभागिता रहेको थियो । सहभागीले हिंसा अन्त्यका लागि सबैको हातेमालो आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा उत्कृष्ट महिला कानुन व्यवसायीलाई सम्मानसमेत गरिएको छ ।
राससका अनुसार शनिबारसम्म सञ्चालन हुने राष्ट्रिय सम्मेलनमा ७७ वटै जिल्लाबाट ७०० प्रतिनिधिको सहभागिता रहेको र आज विभिन्न प्रतिवेदनमाथि छलफल गरी भोलि घोषणापत्र सार्वजनिक गरिने कार्यक्रमकी सभापति एवं अध्यक्ष सरस्वती श्रेष्ठले बताउनुभयो ।
