RayNewsDaily
शेयर बजारमा उच्च वृद्धि

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार उच्च अंकले बढेको छ । बैंकिङ्ग उपसमूहको परिसूचकमा उच्च वृद्धि भएसँगै शेयर बजार मापक नेप्से परिसूचक पनि उच्च अंकले बढेको हो । आज नेप्से परिसूचक ६४.६९ अंकले बढेर २८७७.०३ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत मंगलबार १२ अर्ब ३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज चार वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स र सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने सान्जेन जलविद्युत् कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ । नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमूल्य भने आज सर्वाधिक ५.१२ प्रतिशतले घटेको छ । 

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.९५ प्रतिशतले वृद्धि भएको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक ३.१६ प्रतिशतले बढेको छ । आज जलविद्युत् र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने वित्त, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६७ करोड १६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, नेशनल हाइड्रोपावरको करिब ६७ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने रिडी हाइड्रोपावरको कारोबार रकम साढे ६२ करोड रुपैयाँ नाघेको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update