रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ११ अर्ब ९७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज पनि ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, शिवश्री हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतले वृद्धि भएको छ । आज मूल्य घटेका स्टकहरुको गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा आज रिडी पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, आँखु खोला जलविद्युत् कम्पनीको साढे ५१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये आज ६ उपसमूहको परिसूचक बढेको छ भने ७ वटा उपसमूहको परिसूचक घटेको छ ।
