रे समाचार/काठमाडौं । अघिल्ला दुई दिन बढेर बन्द भएको शेयर बजारमा आज भने गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २६.०७ अंक घटेर २७९८.८३ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज ४ वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतले बढेको छ । आज मूल्य घटेका स्टकहरुको गिरावटदर साढे ४ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, नेशनल हाइड्रोपावरको ६६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ४१ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।
