रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको शेयर बजार मापक नेप्से आज भने बढेर बन्द भएको हो । आज नेप्से परिसूचक २३.८७ अंक बढेर २८२०.४४ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो १३ अर्ब १८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, नेशनल हाइड्रोपावर कम्पनी र होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य करिब साढे ९ प्रतिशतले बढेको छ । आज घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा आज नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६७ करोड ७९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेटष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम साढे ४४ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज १० वटा उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ ।
