रे समाचार/काठमाडौं । शेयर बजार आज पनि उच्च अंकले घटेको छ । हिजो घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक आज ४६.७८ अंक घटेर २७९६.५७ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो २१ अर्ब ५० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो बैंकको शेयरमूल्य ७८ रुपैयाँ ४० पैसा बढेर ८६२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, नेशनल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । कारोबारमा आएको कालिका पावर कम्पनीको शेयरमूल्य भने सर्वाधिक ८.४७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने नेशनल हाइड्रोपावरको कारोबार रकम साढे ४९ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ भने एउटा उपसमूहको परिसूचक बढेको छ ।
