RayNewsDaily
नेप्सेमा तीन पटक सर्किट ब्रेक    

रे समाचार/काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि शेयर बजारका लगानीकर्ताहरू उत्साहित भएका छन् । निर्वाचनको मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएको छ । सोही आधारमा अबका ५ वर्ष स्थिर सरकार बन्ने र लगानीमैत्री वातावरण सिर्जना हुने अपेक्षामा आज लगानीकर्ताहरू उत्साहित भएका हुन् । सोही कारण नेप्सेमा आज तीन  पटक सर्किट ब्रेक लागेर कारोबार अवधिभन्दा अगाडि नै बन्द भएको छ ।

प्रि ओपनमा नै साढे १ प्रतिशतभन्दा बढी बढेको नेप्से नियमित बजार खुल्ने वित्तिकै तीव्र गतिमा बढेर ११ बजेर १ मिनेटमा नै ४ प्रतिशत बढेपछि पहिलो सर्किट ब्रेक लागेर शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो । सोपश्चात खुलेको बजारमा नेप्से पुनः बढ्ने क्रमलाई निरन्तरता दिँदा ११ बजेर २१ मिनेट १३ सेकन्डमा दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि स्थगित हुन पुग्यो । दोस्रो सर्किटपछि १२ बजेर १ मिनेट १३ सेकेन्डमा खुलेको बजारमा नेप्सेले पुनः तीव्र गतिमा बढ्ने क्रमलाई निरन्तरता दिएपछि १२ बजेर १ मिनेट ३७ सेकेन्डमा तेस्रो सर्किट लागेर आजका लागि शेयर कारोबार बन्द भएको थियो ।

आज शेयर बजार मापक नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको छ । आज २६१ स्टकको ४ हजार ५१ पटकको कारोबारमा ५५ करोड ५९ लाख ६३ हजार बराबरको शेयर खरिदबिक्री भएको छ । आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर, हिमालयन रि इन्स्योरेन्स र सिटी होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, ८ स्टकको मूल्य करिब १० प्रतिशतले बढेको छ भने १२ वटा स्टकको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज एउटा स्टकहरुको शेयरमूल्य घटेको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य १.४९ प्रतिशतले घटेको हो ।

कारोबार रकमका आधारमा आज नारायणी डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३ करोड १३ लाख ६७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, शिवम् सिमेन्ट्सको २ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको २ करोड ८६ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.७३ प्रतिशतले बढेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update