रे समाचार/काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअघिको अन्तिम कारोबार दिन शेयर बजारमा उच्च वृद्धि भई परिसूचक २७ सय विन्दुमाथि पुगेको छ । पछिल्ला ५ कारोबार दिनदेखि बढिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
नेप्से परिसूचक आज ३८.५२ अंक बढेर २७१२.४९ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत आइतबार ५ अर्ब ६४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
सालपा विकास बैंकको शेयरमूल्य आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो बैंकको शेयरमूल्य ६४ रुपैयाँ २० पैसा बढेर ७०७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, पञ्चकन्या माई हाइड्रोपावर र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ भने मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ । आज मूल्य घटेका स्टकहरुको गिरावटदर ३ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३४ करोड ६५ लाख ३० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, रिडी हाइड्रोपावरको साढे २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे २४ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये आज १२ वटा उपसमूहको परिसूचक बढेको छ भने एउट उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक आज सर्वाधिक २.१३ प्रतिशतले वृद्धि भएको छ ।
