RayNewsDaily
शेयर बजार सामान्य अंकले वृद्धि

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ६.०३ अंकले वृद्धि भई २६५४.९३ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ४ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब १७ करोड ४६ लाख ३० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो बैंकको शेयरमूल्य आज ५३ रुपैयाँ १० पैसा बढेर ५८४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने हिम स्टार ऊर्जा कम्पनीको शेयरमूल्य ६ प्रतिशतले बढेको छ । आज घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ । 

कारोबार रकमका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, आँखु खोला जलविद्युत् कम्पनीको २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ९ उपसमूहको परिसूचक बढेको छ भने ४ वटा उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update