रे समाचार/काठमाडौं । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको शेयर बजारले आज पनि सोही क्रमलाई निरन्तरता दिएको छ ।शेयर बजार मापक नेप्से परिसूचक आज १०.३० अंक बढेर २६४८.९० विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । हिजो ४ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सुपरमाई हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । हिमालयन पावर पार्टनरको शेयरमूल्य भने आज सर्वाधिक ५.९८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ६९ लाख १९ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, ङादी ग्रुप पावरको करिब साढे २५ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज १० वटा उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूहको परिसूचक घटेको छ ।
