रे समाचार/काठमाडौं । शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २१.६२ अंकले वृद्धि भई २६३८.६० विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब १३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब २३ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
सालपा विकास बैंकको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो बैंकको शेयरमूल्य आज ४३ रुपैयाँ ९० पैसा बढेर ४८३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सागर डिष्टिलरीको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ । नेपाल एसबीआई बैंकको शेयरमूल्य भने आज ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३७ करोड ७२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, आँखु खोला जलविद्युत् कम्पनीको साढे २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने राधी विद्युत् कम्पनीको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक बढेको छ, जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशतले वृद्धि भएको छ ।
