RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि

रे समाचार/काठमाडौं । तीन दिनसम्म लगाताको गिरावटपछि शेयर बजार आज सामान्य अंकले बढेको छ । साताको दोस्रो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँबरारबको १ करोड २६ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सालपा विकास बैंकको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो बैंकको शेयरमूल्य आज ३९ रुपैयाँ ९० पैसा बढेर ४३९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य करिब साढे ९ प्रतिशतले बढेको छ भने मेगा म्युचुअल फण्ड १ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । एनआईबिएल समृद्धि फड २ को इकाईमूल्य भने आज सर्वाधिक ४.८१ प्रतिशतले घटेको छ । 
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड २ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, रिडी पावर डेभलपमेन्टको ३२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे २८ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ७ वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update