रे समाचार/काठमाडौं । शेयर बजारमा निरन्तर गिरावट आएको छ । लगातार दुई कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज तेस्रो दिन पनि गिरावटलाई नै निरन्तरता दिएको हो । नेप्से परिसूचक आज २७.५९ अंक घटेर २६१४.५५ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत मंगलबार ८ अर्ब ३६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो बैंकको शेयरमूल्य आज ३६ रुपैयाँ ३० पैसा बढेर ३९९रुपयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्यको शेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ५ प्रतिशतभन्दा कम रहेको छ । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ८.९२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६३ करोड ४२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, आज रिडी पावर डेभलपमेन्टको साढे ३७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५९ प्रतिशतले घटेको छ । यसैगरी, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
