RayNewsDaily
सर्लाहीमा गोली लागेर बालक घाइते    

मलङ्गवा (सर्लाही) । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एकजना बालक घाइते हुनुभएको छ । मलङ्गवा नगरपालिका-४ निवासी रामविश्वास रामका १५ वर्षीय छोरा आकाश राम गोली लागेर घाइते हुनुभएको हो ।     
     
मलङ्गवा-४ स्थित ‘ढाकाबोर्डर’ भन्ने स्थानमा फेला परेको बेवारिसे पेस्तोल खेलाउने क्रममा बालकलाई गोली लागेको हो । उक्त घटनामा बालकको दाहिने हातको पञ्जामा गोली लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।     
     
ढाकाबोर्डरस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र कुनामा रातो कपडाले बेरिएको वस्तु खोली हेर्दा पेस्तोल भेटिएको र सो पेस्तोल नक्कली होला भनी चलाउने क्रममा पड्किँदा बालक घाइते भएको प्रहरीले जनाएको छ ।     
     
घाइते बालकको प्रादेशिक अस्पताल मलङ्वामा उपचार भइरहेको र हाल खतरामुक्त रहेको प्रहरीले जनाएको छ । गत आइतबार फागुन ३ गते राति मलङ्गवामै अज्ञात व्यक्तिको गोली प्रहारबाट भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब-इञ्जिनियर प्रमोदकुमार यादवको हत्या भएको थियो ।     
     
उक्त घटनामा प्रयोग भएको हतियार पनि हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update