भक्तपुर । भक्तपुर जिल्लामा विगत एक महिनाको अवधिमा १५२ वटा आपराधिक घटनाको मुद्दा दर्ता भएका छन् भने विभिन्न घटनामा ११० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै गत माघभरिमा जघन्य तथा गम्भीर अपराधसम्बन्धी दुई वटा हत्याका घटना घटेका जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार लागुऔषधका आठ घटना, बहुविवाह एक, बैंकिङ कसुरका ६२, ठगीका सात, चोरीका १६, जुवाको एउटा र आत्महत्याका दुई वटा मुद्दा दर्ता भएका उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न घटनामा संलग्न ३२ जनालाई कैद सजायका लागि कारागार चलान गरिएको, फैसला कार्यान्वयनतर्फ दुई वर्ष नौ महिना एक दिन कैद सजाय भुक्तानका लागि कारागार चलान भएका छन् । विभिन्न घटनामा रु ६७ लाख ४७ हजार ८० जरिवाना एवं बिगो सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका–३ वंशगोपालस्थित ३८ वर्षीया लालमाया तामाङको हत्याको अभियोगमा काभ्रे तिमाल गाउँपालिका–९ घर भई भक्तपुर नगरपालिका–३ बस्ने ३६ वर्षीय लनाम तामाङ पक्राउ परी पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित डेराकोठामा आफ्नै आमा ५० वर्षीया सरिता भण्डारीको हत्या अभियोगमा पक्राउ परेका सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने २७ वर्षीय प्रविन भण्डारीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
महिला हिंसाका घटनामा ३६ उजुरी परेकामा २६ वटा मिलापत्र गरिएको छ भने १० वटा अनुसन्धानका क्रममा रहेका, ३२ जना नागरिक हराएकामा २३ जना फेला परेका छन् । प्रहरीमा आएर विभिन्न घटनामा उजुरी दिनेमा १८३ जना रहेकामा १४७ को फछ्र्यौट गरिएको जनाउँदै उहाँले जिल्ला प्रशासन कार्यालयमार्फत आएका ४३ उजुरीमध्ये ३७ वटाको फछ्र्यौट गरिएको बताउनुभयो ।
सवारी दुर्घटनातर्फ गत माघमा २२७ सवारीसाधन दुर्घटनामा ३४० वटा सवारीसाधनको संलग्नता रहेको जनाउँदै पाँच जनाको मृत्यु भएको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो । उहाँका अनुसार ती घटनामा ११५ जना घाइते भएका छन् ।
विभिन्न दुर्घटनामा १०० को प्रहरीले उद्धार गरेको, सवारी चेकिङका क्रममा एक हजार ६०७ वटा सवारीसाधनलाई कारबाही गरेको र रु ११ लाख ४२ हजार २०० जरिवाना राजस्व सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । रासस
