RayNewsDaily
शेयर बजारमा गिरावट

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार सामान्य अंक बढेर बन्द भएको शेयर बजार मापक नेप्से परिसूचक आज ८.१६ अंक घटेर २६६२.९१ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकामा आज ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । 

आज तीन वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । रिलायन्स र सालपा गत बिहीबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएका कम्पनी हुन् । यसैगरी, अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । खानी खोला हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक ९.३८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६५ करोड ३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, आँखु खोला जलविद्युत् कम्पनीको करिब साढे ५२ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज तीनवटा उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update