RayNewsDaily
शेयर बजार ८ अंकले वृद्धि

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिनदेखि घटिरहेको शेयर बजार साताको अन्तिम कारोबार दिन आज भने सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ८.९७ अंकले वृद्धि भई २६७१.०७ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ६९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, रसुवागढी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने खानी खोला हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतले बढेको छ । कालिञ्चोक दर्शनको शेयरमूल्य भने आज सर्वाधिक ७.५९ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७० करोड ५३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, एसवाई प्यानल नेपालको करिब साढे ४३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने रिडी पावरको करिब ४२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । १३ वटा उपसमूहमध्ये आज ८ वटा उपसमूहको परिसूचक बढेको छ भने ५ वटा उपसमूहको परिसूचक घटेको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update