रे समाचार/काठमाडौं । साहित्यकार विमला ढुंगना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रमुख अतिथि स्रष्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’, कार्यक्रमका सभापति कृष्ण भुसाल, समिक्षक प्राडा.यज्ञश्वर निरौला, कृतिकार निरौला, साहित्यकार प्रमोद प्रधान, कृतिका सम्पादक रमेश दाहाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायत मञ्चासिन व्यक्तित्व र अग्रभागमा रहनुभएका सम्पूर्ण व्यक्तित्वले उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
साहित्यकार भैरवी भुगोलको सहजीकरण मिलाप पब्लिकेशनको आयोजनामा भएको लोकार्पण कार्यक्रममा स्रष्टा विमला निरौलालाई मिलाप कभर सम्मान पनि हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विश्व कीर्तिमानी सङ्गीकार सन्तोष श्रेष्ठ, साहित्यकार सीता पाण्डे, लक्ष्मी उप्रेती, डा.फणिन्द्रराज निरौला र गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले बालसाहित्यमा कलम चलाउँदै आउनुभएकी स्रष्टा विमलालाई कथासङ्ग्रहका लागि बधाई तथा शुभकामना दिँदै संग्रहमा रहेको कथा उत्कृष्ट रहेको धारणा राख्नुभएको थियो ।

कृतिको समिक्षा गर्दै डा.यज्ञश्वर निरौलाले अधिकांश कथा प्रेमसँग सम्बन्धित रहेको बताउँदै नेपालबाहिर अमेरिका र नेपाली परिवेशका जनजीवनका कथा रहेको बताउनुभएको थियो । ‘समाजका विविध विषयलाई कथाका रूपमा एकै कृतिमा उनेर विमलाले पाठकसमक्ष प्रस्तुत गर्नुभएको छ’, डा.निरौलाले भननुभयो, ‘समाजमा रहेका रीति र विकृति सरल तर गहन, सजीव बाचाल रूपमा यसमा प्रस्तुत भएका छन् ।’
साहित्यकार प्रमोद प्रधानले स्रष्टा विमला निरौला साहित्य सिर्जना सँगसँगै समाज सेवामा पनि त्यतिकै सशक्त रूपमा लाग्दै आएको बताउँदै नेपाल बाल साहित्य समाजमा पनि उहाँको योगदानको चर्चा गर्नुभयो । प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदनले आफू विमलाका साहित्य रचनासँग परिचित रहेको बताउँदै उहाँलाई बालसाहित्य, कविता, गीतकारका रूपमा चिनिँदै आए पनि अब कथाकारका रूपमा चिनिने बताउनुभयो । प्रमुख अतिथि रोदनले पछिल्लो समय साधना बिनै नै धेरै व्यक्ति लेखनमा आउँदै कृति सार्वजनिक गरेको बताउँदै निरौला सानैदेखि यो क्षेत्रमा रहेर धेरै कृति पाठकमाझ ल्याएको चर्चा गर्नुभयो । कृतिका सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राख्दै छोटो समयमै ‘प्रेमाश्रु’ पाठकमाझ ल्याएको बताउनुभयो ।
स्रष्टा विमलाले आफूले बाल साहित्यमा अलिक धेरै कलम चलाउँदै आए पनि सबै विधामा कलम चलाइरहेको बताउँदै पछिल्लो कृति ‘प्रेमाश्रु’ले पाठकको मन जित्नेमा आशावादी रहेको बताउनुभयो । कार्यक्रमका सभापति कृष्ण भुसलाले ‘प्रेमाश्रु’मा धेरै कथामा प्रेमलाई प्राथमिकता दिएर लेखिएको बताउँदै प्रेम दिवसमा पाठकमाझ आएको बताउनुभयो । उहाँले मिलापले गर्दै आएका कार्यको चर्चा गर्नुभएको थियो ।
