रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । साताको पहिलो कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
आज नेप्से परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १० अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कालिञ्चोक दर्शनको शेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने आरबिबि फोकस ४० को इकाईमूल्य ४ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ५.२४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी नै शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४५ करोड २८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, आँखु खोला जलविद्युत् कम्पनीको साढे ४० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज दुई वटा उपसमूहको परिसूचक बढेको छ भने ११ वटा उपसमूहको परिसूचक घटेको छ ।
