RayNewsDaily
शेयर बजारमा २६ अंकको गिरावट

रे समाचार/काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । हिजो दोहोरो अंकले घटेको शेयर बजार मापक नेप्से परिसूचकमा आज ठूलो गिरावट आएको छ । नेप्से परिसूचक आज २६.०५ अंक घटेर २६७२.३९ विन्दुमा झरेको छ । नेप्सेमा गिरावट आएसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्ब ६५ करोड ९७ लाख बराबरको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ७७ करोड ३९ लाख १५ हजार रुपियाँको शेयर कारोबार भएको छ । 

आज दुई वटा स्टकको शेयर करिब सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । खानीखोला हाइड्रोपावर र रिडी पावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । यसैगरी, लिबर्टी इनर्जी कम्पनीको ७.८४ प्रतिशत, नेशनल हाइड्रोपावर कम्पनीको शेयर ५.९० प्रतिशत र त्रिशूली जलविद्युत् कम्पनीको शेयर ४.९९ प्रतिशतले बढेको छ । सर्वाधिक गिरावट आउने कम्पनीमा पनि आज जलविद्युत् उत्पादक कम्पनी नै परेका छन् । मायाखोला हाइड्रो कम्पनीको शेयर सबैभन्दा धेरै ५.४० प्रतिशत र माबिलुङ इनर्जीको शेयर ४.९३ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७७ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, एसवाई प्यानलकोे ५४ करोड ४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने आँखुखोला जलविद्युत् कम्पनीको कारोबार रकम ४८ करोड ४३ लाख रुपैयाँ पुगेको छ । १३ वटा उपसमूहमध्ये आज व्यापार उपसमूह बाहेक सबै उपसमूहको परिसूचक घटेको छ । 

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update