RayNewsDaily
शेयर बजारमा गिरावट, परिसूचक २७ सय विन्दुतल

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा गिरावट आएको छ । गत साताको अन्तिम कारोबार दिन दोहोरो अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंकले घटेर पुनः २७ सयमुनि नै बन्द भएको छ ।

आज नेप्से परिसूचक १०.२५ अंक घटेर २६९८.४४ विन्दुमा आइपुगेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने अघिल्लो दिनभन्दा बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सुपर माई हाइड्रोपावर, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, हिमालयन हाइड्रोपावर ५.३९ प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर ४.४९ प्रतिशतले बढेको छ । कालिन्चोक दर्शनको शेयर सबैभन्दा धेरै ८.९१ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ८.२९ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज सुपर मादी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५६ करोड ३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, आँखुखोला जलविद्युत् कम्पनीकोे करिब साढे ५१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम ४७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । १३ वटा उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक घटेको छ भने दुई वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update