रे समाचार/काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १७.५३ अंकले घटेर २७१४.०५ विन्दुमा झरेको छ । नेप्सेमा गिरावट आए पनि आज कारोबार रकम भने बढेको छ । हिजो ११ अर्ब ४९ करोड बराबरको शेयर खरिदबिक्री भएकोमा आज १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार रुपियाँको शेयर कारोबार भएको छ ।
आज दुई वटा स्टकको शेयरमूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको शेयर ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । यसैगरी, कालिका पावर कम्पनीको शेयर ८ प्रतिशतभन्दा बढी र रावा इनर्जीको शेयर ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज तीनवटा कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशले घटेको हो ।
कारोबार रकमका आधारमा आज न्यादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५९ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, एसवाई प्यानलको कारोबार रकम ५२ करोड रुपैयाँ नाघेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । १३ वटा उपसमूहमध्ये आज तीन वटा उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ ।
