RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि 

रे समाचार/काठमाडौं । शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । हिजो उच्च अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्से परिसूचक आज ५.०८ अंक बढेर २७३१.५९ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो १४ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज दुई वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत् कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतले बढेको छ भने पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गुडविल फाइनान्स लिमिटेड डिबेञ्चरको मूल्य भने आज सर्वाधिक ८.०७ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८३ करोड ५७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, राधी विद्युत् कम्पनीको कारोबार रकम ५४ करोड रुपैयाँ नाघेको छ भने एसवाई प्यानल नेपालको करिब ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ । १३ वटा उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ५ वटा उपसमूहको परिसूचक घटेको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update