रे समाचार/काठमाडौं । शेयर बजारमा आज भारी गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ४२.५८ अंक घटेर २७२६.५१ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो १६ अर्ब ३५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.५६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, दरमखोला हाइड्रो इनर्जी र माया खोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशतले वृद्धि भएको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य भने आज सर्वाधिक ६.९३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, एसवाई प्यानल नेपालको साढे ५७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत् कम्पनीको कारोबार रकम ५१ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ भने एएटा उपसमूहको परिसूचक स्थिर रहेको छ ।
